कसैले जीवनसँग हार खान नपरोस्!

(The bitter reality of life: Is Death an ultimate solution for problems? Why do we still not consider ways (psychological treatments, therapies, counseling and better mental health) to escape from the problems?
Here is an amazing write up. )

By: Abdus Miya

मृत्यु जीवनको अन्त्य होईन, शुरुवात हो अरे। यो कुरा साँचो होस्, अनि मेरो साथिले नया जीवनको शुरुवात गरोस्।

मेरो बाल्यकालदेखिकै एउटा मिल्ने साथीले आज सँसारसँग हार मान्यो। घरकै ढोका बन्द गरेर सिलिङ्मा झुण्डिएछ ऊ। नपुग केहि थिएन, बाबुआमाको एक्लो छोरो, मात्र एक्लो सन्तान। जीबनसँग के चाहन्थ्यो खै, मसँग भने एउटा रिसोर्ट खोल्ने सपना बाँडि रहन्थ्यो। पुरा नगरि बिदा भएछ सँसारबाट। जस्तो आएको थियो त्यस्तै। रित्तो हात।

टिचिँङ् अस्पतालमा पोष्टमार्टम गरिसकेपछि मैले अन्तिम पटक उसको अनुहार हेरेँ। हिजो अस्ति जस्तै हतारमा थिएन ऊ, आँखाहरु बन्द गरेर सुस्ताएको थियो, सँधैका लागी। यसपटक भेट्दा उसले मलाई घरमा आउ न है भनेर बोलाएन। अनि मलाई बोलाउने मौका पनि दिएन।

यतिखेर मेरो मनमा धेरै प्रश्नहरु छन्। मानिस के का लागी बाँच्छ? जीबन मीठो हुन्छ होला या मृत्यु? बाँच्नलाई बढि आँट चाहिन्छ या आत्महत्या गर्नका लागी? मसँग यि कुनै प्रश्नका उत्तर छैनन्। शायद जीवनले आफैँ बिभिन्न मोडहरुमा सिकाउला।

कुरा मेरो एउटा साथिको मात्र होईन, सम्पुर्ण मानवजातीको हो। विशेष भन्नुपर्दा युवा वर्गको। आत्महत्याका घटना हिजोआज अलि बढि देख्न-सुन्न थालिएको छ। मेरो साथिले ठीक गर्यो या बेठिक, यसै भन्न सक्दिन। तर जीबनमा जस्तोसुकै परिस्थितिको सामना गर्ने साहस राख्नुपर्छ भन्न चाहन्छु। समस्या सबैको जीबनमा आउँछन्, ती सँग डराएर भाग्नुभन्दा समाधानतर्फ लाग्नु बेस ठान्छु म।

हामीले जीबनलाई कसरि हेर्छौँ भन्ने कुराले ठुलो महत्व राख्दछ। धेरै भन्दा धेरै चाहना राख्नु अनि ठुलो भन्दा ठुलो सपना देख्नु मानवीय गुण नै हो। तर चाहना र सपनाले हामीलाई नै तहसनहस बनाउनु सहि होईन। जसले जे सुकै भनोस्, जीवन महत्वपुर्ण छ, सँगसँगै खुशी भएर बाँच्नु पनि। हामी पलपलमा खुशी भेट्छौँ, अनि स-साना सुख दुःख बाँच्दै जीबन सकिन्छ। बिडम्बना, केहि हतारिन्छन् अनि समाजलाई नै स्तब्ध बनाएर बिदा हुन्छन्।

आत्महत्याका कथाहरु दिनानुदिन बढ्दैछन्, तर किन? हामीले किन जीवनलाई प्रेम गर्न सकिरहेका छैनौँ? जीवन त्यति सस्तो छ र? दोष कसको हो? सोच्नुपर्ने बेला आएको छ। आफ्नो अगाडि अनेक समस्याहरुको पहाड देख्दै गर्दा आफुलाई बिर्सेर अलि पर हेरौँ। दिनभर आफुभन्दा ठुलो भारी बोकेर एक छाक खाएर पनि मानिसले खुशी खोजेकै छन्, गिट्टि कुटेर र बालुवा चालेरै जीबन धानेकाहरु पनि मुस्कुराएकै छन्। शरिरका अंगहरुनै नहुँदा पनि आफुलाई बलियो बनाएकाहरुलाई हेरौँ न। जीवन बाँच्ने तरिका त यहाँबाट पो सिक्नुपर्छ।

जीतको खुशियालीमा रम्न सबैले जानेका छौँ, हारलाई स्वीकार्ने आत्मशक्ति बढाउन मात्र बाँकी हो। सहजतामा हर्षित हुन सबैले जानेकै छौँ, अप्ठ्यारोलाई चिर्ने आत्मबिश्वास जगाउन केवल बाँकी हो। नसकिने के छ र? जीवनबाट नहारौँ न, जीत हाम्रै निश्चित छ। आज पो समस्या छ त, भोलिको उज्यालो दिनलाई पर्खौँ न! जीवन सुन्दर छ, यसमा अझ रङ्ग भर्ने प्रयास गरौँ।

आज बिहान ११ बजे आत्महत्या गर्ने मेरो साथी (आशिष लामा)को चिर आत्माले शान्ति पाओस, अनि अब कहिल्यै कसैले जीवनसँग हार खान नपरोस।

(Mr. Abdus Miya is a youth activist, a writer and an active youth leader.
This Post is originally published on : http://blog.openspacenepal.com/suicide/ )

Psychbigyaan

About this Author

Psychbigyaan – who has written posts on Psychbigyaan Network Nepal.


Leave a Reply

Your email address will not be published. Required fields are marked *